महोत्तरी–१ का विकास योजना प्रधानमन्त्रीसमक्ष पेश, बर्दिबास मेडिकल कलेजदेखि खानेपानी र सडक निर्माणसम्म माग

महोत्तरी क्षेत्र नम्बर–१ का जनताको आधारभूत आवश्यकता पूरा गर्न तथा दीर्घकालदेखि अलपत्र अवस्थामा रहेका विकास आयोजनाहरूलाई सञ्चालनमा ल्याउन प्रतिनिधि सभा सदस्य प्रमोद कुमार महतोले प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयहरू समक्ष विस्तृत प्रस्ताव पेश गर्नुभएको छ।
महतोले स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सडक, पर्यटन, पशुपालन, भूमि व्यवस्थापन, बजार व्यवस्थापन तथा पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न योजनाहरूलाई प्राथमिकतामा राख्दै लिखित रूपमा ध्यानाकर्षण गराउनुभएको हो।
स्वास्थ्य र शिक्षा क्षेत्रमा विशेष जोड
प्रस्तावमा क्षेत्रको सबैभन्दा ठूलो समस्या गुणस्तरीय स्वास्थ्य सेवाको अभाव भएको उल्लेख गरिएको छ। विशेषगरी लामो समयदेखि अलपत्र अवस्थामा रहेको बर्दिबास मेडिकल कलेजलाई तत्काल सञ्चालनमा ल्याउन आवश्यक बजेट विनियोजन गर्न सरकारसँग आग्रह गरिएको छ। साथै ज्येष्ठ नागरिक, महिला, दलित, अपाङ्ग तथा विपन्न वर्गका लागि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने माग पनि गरिएको छ।
यसैगरी विभिन्न विद्यालयहरूको भवन निर्माण तथा स्तरोन्नति गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। क्षेत्रभित्र रहेका धेरै विद्यालयमा भौतिक संरचना अभावका कारण गुणस्तरीय शिक्षा प्रभावित भएको प्रस्तावमा उल्लेख गरिएको छ।
कृषि, पशुपालन र भूमि व्यवस्थापनमा सुधारको माग
महतोले कृषि क्षेत्र यस क्षेत्रको मुख्य आधार भए पनि उचित व्यवस्थापन अभावका कारण किसानहरू समस्यामा परेको उल्लेख गर्नुभएको छ। गाई गौशालासँग सम्बन्धित २०० बिघा जमिनको संरक्षण तथा व्यवस्थापन गर्न, कृषि शिक्षालय स्थापना गर्न तथा आधुनिक दुग्ध उद्योग सञ्चालन गर्न प्रस्तावमा माग गरिएको छ।
यसैबीच नीलगाई तथा बाँदरको आतंकका कारण किसानहरूले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गरिएको छ।
खानेपानी, सरसफाइ र ऊर्जा व्यवस्थापन
प्रस्तावमा क्षेत्रका अधिकांश स्थानमा सुरक्षित खानेपानीको अभाव रहेको उल्लेख गरिएको छ। बर्दिबास, भंगाहा तथा गौशाला क्षेत्रमा तत्काल खानेपानी योजना सञ्चालन गर्न, पानी ट्यांकी निर्माण, पाइपलाइन विस्तार तथा आधुनिक वितरण प्रणाली विकास गर्नुपर्ने माग गरिएको छ।
त्यसैगरी फोहोर व्यवस्थापनका लागि आधुनिक वेस्ट ट्रीटमेन्ट प्लान्ट स्थापना गर्न, ५० वटा टावर लाइट तथा १०० वटा सोलार बत्ती जडान गर्न पनि प्रस्ताव गरिएको छ।
सडक तथा पुल निर्माणलाई प्राथमिकता
क्षेत्रको समग्र विकासका लागि सडक तथा पुल निर्माण अत्यन्त आवश्यक भएको उल्लेख गर्दै विभिन्न स्थानमा सडक कालोपत्रे, स्तरोन्नति तथा विस्तार गर्नुपर्ने प्रस्तावमा उल्लेख गरिएको छ। ग्रामीण क्षेत्रमा नाला सहितको सडक निर्माण गर्नुपर्ने माग पनि गरिएको छ।
धार्मिक तथा पर्यटन क्षेत्रको विकास
महतोले महोत्तरी क्षेत्र नम्बर–१ धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त सम्भावना भएको क्षेत्र भएको उल्लेख गर्दै विभिन्न मन्दिर तथा पोखरीहरूको संरक्षण, सौन्दर्यकरण तथा पर्यटन क्षेत्रको रूपमा विकास गर्नुपर्ने प्रस्तावमा समेट्नुभएको छ।
यसैगरी गाई गौशाला क्षेत्रमा अतिथि भवन निर्माण, पार्क निर्माण तथा धार्मिक तथा सांस्कृतिक स्थलहरूको विकास गर्न सरकारसँग आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार!