महोत्तरी विकासमा ‘ब्रेकथ्रु’ खोज्दै सांसद झा


 

महोत्तरी जिल्लाको समग्र विकासका लागि महोत्तरी ३का प्रतिनिधिसभा सदस्य उज्ज्वल कुमार झाले नेपाल सरकार समक्ष पत्र पेश गर्नुभएको छ ।

सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाइएको ज्ञापनपत्रमा शिक्षा, स्वास्थ्य, कृषि तथा सिँचाइ, पूर्वाधार, धार्मिक पर्यटन र खेलकुद क्षेत्रका समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह गरिएको छ ।

शिक्षातर्फ विद्यालय व्यवस्थापन सुधार, शिक्षक दरबन्दी मिलान, विज्ञान प्रयोगशाला स्थापना, प्राविधिक शिक्षालय सञ्चालन र जलेश्वरस्थित क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन माग गरिएको छ ।

स्वास्थ्यतर्फ जलेश्वर प्रादेशिक अस्पताललाई संघीय मातहतमा ल्याई स्तरोन्नति, विशेषज्ञ चिकित्सक थप, स्थानीय तहका अस्पताल निर्माण सम्पन्न तथा विपन्नलाई निःशुल्क उपचार व्यवस्था गर्न आग्रह गरिएको छ ।


कृषि क्षेत्रमा सुनकोशी मरिन डाइभर्सन आयोजना शीघ्र सम्पन्न गरी सिँचाइ विस्तार, मल–बीउ उपलब्धता, बाली क्षतिपूर्ति र किसान परिचयपत्र लागू गर्नुपर्ने माग राखिएको छ ।

पूर्वाधारतर्फ जलेश्वरमा सुख्खा बन्दरगाह निर्माण, जनकपुर–जलेश्वर सडक स्तरोन्नति, औद्योगिक करिडोर निर्माण तथा बाढी नियन्त्रणका लागि तटबन्ध मर्मत र पानी निकास व्यवस्थापनमा जोड दिइएको छ ।

त्यसैगरी, जलेश्वरनाथ महादेव मन्दिर लगायत धार्मिक स्थलको विकासमार्फत पर्यटन प्रवद्र्धन र जलेश्वरमा बहुउद्देश्यीय रंगशाला निर्माण गर्न प्रतिनिधिसभा सदस्य झाले प्रधानमन्त्री शाहसमक्ष आग्रह गर्नु भएको हो ।

यसका साथै सांसद झाले महोत्तरी जिल्लाबाट ठूलो संख्यामा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको र उनीहरुका सन्तान कुलतमा फस्ने खतरा रहेकाले त्यसको निरुपण गर्नु समेत आवश्यक रहेका प्रधानमन्त्री बालेन समक्ष आग्रह गर्नु भएको थियो । लेनदेनको विकराल समस्याका कारण विपन्न वर्गलाई बढी नै प्रभावित गरेको भन्दै समेत उहाँले चिन्ता व्यक्त गर्नु भएको थियो ।

समग्रमा, सांसद झाद्वारा प्रस्तुत पत्र महोत्तरीको विकासलाई ‘ब्रेकथ्रु’ दिने उद्देश्यसहित तयार गरिएको देखिन्छ। यसले सरकारलाई नीतिगत मात्र होइन, कार्यान्वयन तहमा समेत तत्काल परिणाममुखी कदम चाल्न दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ।

तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार!