भारतीय सीमासंग जोडिएको महोत्तरीको मटिहानी नगरपालिकास्थित वडा नम्बर ८मटिहानीमा प्रहरी चौकीको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ ।
बुधबार एक कार्यक्रमकाबीच मटिहानी नगरपालिकाका नगरप्रमुख हरीप्रसाद मण्डल, महोत्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्भ शर्मा तथा वडा नं. ६, ७, ८ र ९का वडा अध्यक्षहरूले संयुक्त रूपमा प्रहरी चौकीको प्रशासनिक भवनको उद्घाटन गर्नु भएको हो । 
नगरपालिकाको नगरस्तरीय र वडास्तरीय संयुक्त योजनाअन्तर्गत करिब ३२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको मटिहानीका नगरप्रमुख मण्डलले बताउनु भयो । महोत्तरी सदरमुकाम जलेश्वर पछि जिल्लामा मटिहानीमै भाडाको घरमा प्रहरी चौकी तत्कालिन समयमा संचालनमा आएको स्मरण गर्नुहुँदै मटिहानीका नगरप्रमुख मण्डलले अब यसले सेवाप्रवाहमा ठूलो टेवा पुग्ने बताउनु भयो । 
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्भ शर्माले जिल्लाका अन्य प्रहरी चौकीहरु पनि जिर्ण अवस्थामा रहेको बताउनु भयो । मटिहानी नगरपालिकामा निर्माण भएको प्रहरी चौकीको भवन अन्य स्थानीय तहकालागि पनि उदाहरणको रुपमा हुने बताउनु भयो । उहाँले भारतीय सीमा संग यो पालिका जोडिएकाले प्रहरी चौकीको आफ्नै सुविधासम्पन्न भवन निर्माण भएपछि शान्ति सुरक्षा कायम राख्न समेत सहयोगी हुने बताउनु भयो ।
उक्त भवनमा हल, थुनुवा कक्ष, चौकी प्रमुख कक्ष, सहायक चौकी प्रमुख कक्ष, स्टोर रूम र कार्यालय कक्ष रहेको छ । नवनिर्मित भवन सञ्चालनमा आएपछि स्थानीय स्तरमा शान्ति सुरक्षा व्यवस्थापन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ । साथै, सेवाग्राहीलाई सहज र व्यवस्थित सेवा प्रवाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।







