महोत्तरीका युवाहरूलाई विपद् व्यवस्थापन सम्बन्धी तालिम प्रदान

महोत्तरीका २८ जना युवा तथा स्थानीय विपद् व्यवस्थापन समितिका सदस्यहरूले चारदिने खोज तथा उद्धार तालिम प्राप्त गरेका छन्। विपद् आइपर्दा खोजी, उद्धार, तथा राहत प्रदान गर्न सक्षम बनाउने उद्देश्यले वल्र्ड भिजन इन्टरनेशनल नेपाल र एकीकृत ग्रामिण विकास समाज, बर्दिवास को संयोजनमा तालिम प्रदान गरिएको हो।

सम्सी गाउँपालिका,एकडारा गाउँपालिका तथा जलेश्वर नगरपालिका बाट तालिममा सहभागी भएकाहरूले भूकम्प, आगलागी नियन्त्रण तथा उद्धार, डुबान, सर्पदंश तथा प्राथमिक उपचारसम्बन्धी तालिम प्राप्त गरेका हुन। नेपाली सेना गोरखनाथ गण र सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेडक्वार्टर, जलसागर का प्रशिक्षकहरूले उनीहरूलाई सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिएका थिए।

 

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले आपत्कालीन अवस्थामा तालिम प्राप्त युवाहरूले तत्कालीन उद्धार तथा राहत कार्यमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए। हाल जलेश्वर, सम्सी, र एकडारा का युवालाई मात्र समेटिएको यो तालिम विस्तार गर्दै अन्य पालिकाका युवालाई समेत प्रशिक्षण दिने योजना रहेको उनले जानकारी गराए।

उक्त चारदिने तालिमको समापन कार्यक्रममा एकडारा गाउँपालिकाकी उपाध्यक्ष महजवी खातुन, जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तलाल प्रसाद जयसवार, नेपाली सेनाका मेजर ध्रुव कार्की, सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेडक्वार्टरका डिएसपी शुशील श्रेष्ठ लगायत विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार!