ट्राफिक नियम उल्लङ्घनकर्तामाथि कडाइ, नयाँ इन्चार्ज महतोको सक्रियता

महोत्तरीको जलेश्वर ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूविरुद्ध कडा कारबाही सुरु गरेको छ। जलेश्वर–भिठ्ठामोड सडकखण्डसँगै जलेश्वर–मटिहानी तथा आसपासका ग्रामीण सडकहरूमा ट्राफिक चेकजाँचलाई थप कडाइ गरिएको हो।

तीन दिनअघि जलेश्वर ट्राफिक कार्यालयका प्रहरी सहायक  निरीक्षक रमेश श्रेष्ठको सरुवा भएपछि नयाँ इन्चार्जका रूपमा आएका प्रहरी सहायक निरीक्षक जय नारायण महतोको नेतृत्वमा सडक दुर्घटना न्यूनीकरणका लागि विशेष चेकजाँच अभियान सुरु गरिएको छ।

प्रहरी सहायक निरीक्षक महतोको नेतृत्वमा खटिएको ट्राफिक टोलीले विभिन्न स्थानमा सवारी साधनका कागजात, चालक अनुमति पत्र (लाइसेन्स), हेलमेटको प्रयोग, सिट बेल्टको अनिवार्य प्रयोगलगायत सुरक्षासम्बन्धी मापदण्डहरू कडाइका साथ जाँच गरिरहेको छ।

चेकजाँचका क्रममा नवीकरण नगरिएका कागजात, बीमा नबुझाएका, हेलमेट तथा सिट बेल्ट प्रयोग नगरेका सवारी चालकहरूलाई तत्काल कारबाही गर्दै जरिवाना तिराइएको ट्राफिक प्रहरीले जनाएको छ। साथै, नियम उल्लङ्घन गर्ने चालकहरूलाई ट्राफिक सचेतनामूलक सन्देशसमेत प्रदान गरिएको छ।

प्रहरी सहायक निरीक्षक महतोका अनुसार यस अभियानको मुख्य उद्देश्य ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्दै सवारी दुर्घटनामा कमी ल्याउनु हो।

स्थानीय बासिन्दाहरूले ट्राफिक प्रहरीको यस कदमको स्वागत गर्दै सडक सुरक्षा र अनुशासन कायम गर्न यस्ता नियमित चेकजाँच अत्यावश्यक रहेको बताएका छन्। ट्राफिक प्रहरीको निरन्तर निगरानीले सवारी चालकहरूमा सचेतना बढ्दै गएको उनीहरूको भनाइ छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार!