संघीय संसदमा बिहीबार आयोजित शपथ ग्रहण समारोहमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर-३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उज्जवल कुमार झासहित १७ जना सांसदहरूले आफ्नो मातृभाषा मैथिलीमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिनिधिसभा सदस्य झाले सुरु गरेको सांस्कृतिक पहिचानको यस पहललाई अन्य सांसदहरूले पनि पछ्याएका हुन् ।

यस पहलले मिथिला–मधेशको मौलिक पहिरन, भाषा र सांस्कृतिक धरोहरलाई राष्ट्रिय स्तरमा प्रस्तुत गरेको छ ।

सांसद झाले धोती, कुर्ता र गम्छा लगाएर शपथ लिँदा सामाजिक सञ्जालदेखि जनस्तरसम्म सकारात्मक प्रतिक्रिया देखा परेका छन् । उनका अनुसार, ‘मैथिलीमा शपथ लिनु हाम्रो मातृभूमि र मातृभाषाप्रतिको सम्मानको मात्र नभई मिथिला–मधेशको पहिचानलाई सुदृढ बनाउने प्रयास पनि हो ।’

यस समारोहमा झासहित १७ सांसदले मैथिली भाषामा शपथ ग्रहण गरेपछि स्थानीय पहिचान र भाषिक विविधताको संरक्षण र प्रवर्द्धनको सन्देश सार्वजनिक भएको छ ।
संसद भवन जस्तो राष्ट्रिय प्रतीकात्मक स्थानमा पारम्परिक भेषभूषा र मातृभाषा प्रयोगले क्षेत्रीय पहिचानलाई सम्मान दिने मात्र नभई अन्य सांसदहरूलाई पनि प्रेरणा मिल्ने छ ।
अघिल्ला वर्षहरूमा पनि झाले विभिन्न अवसरहरूमा मिथिला–मधेशको सांस्कृतिक पहिचानलाई सार्वजनिक गर्ने अभ्यास गर्दै आएका थिए ।
यसपटकको कदमले संसदमा मातृभाषा प्रयोगको नयाँ उदाहरण स्थापित गरेको छ ।स्थानीय सञ्चार माध्यम र सामाजिक सञ्जालमा सांसदहरूको योकदमलाई व्यापक समर्थन प्राप्त भएको छ ।
नागरिकहरूले सन्देश दिएका छन् कि हाम्रो भाषिक र सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर दुर्लभ हुन्छ । सांसदहरूको यस्तो पहलले गर्व महसुस गराउँछ ।
यसले आगामी दिनमा मातृभाषा र सांस्कृतिक भेषभूषाको संरक्षणका लागि राजनीतिक र सामाजिक क्षेत्र दुवैमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ ।







