महोत्तरीको ग्रामीण बस्ती,मुख्य राजमार्ग तथा शहरी क्षेत्रमा सुरक्षा व्यवस्था नियन्त्रित राख्न सेना परिचालन गरिएको छ । महोत्तरी जिल्लाका सुरक्षा सयन्त्रले जिल्ला भरी अनिश्चितकालीनकर्फ्यू आदेश जारी गर्दै थप जनधनको क्षति नगर्न नगराउन आग्रह समेत गरेको छ ।
देशभर भईरहेको प्रदर्शनको असर महोत्तरीमा समेत देखिएको र प्रदर्शन उग्र हुनसक्ने आशंका लाई मध्यनजर गर्दै कडा सुरक्षा व्यवस्थापन गरिएको जनाईएको छ । यता महोत्तरी सदरमुकाम स्तिथ जलेश्वर कारागार बाट मंगलवार साँझ ५७६ कैदीबन्दी हरु भागेपछि सुरक्षा चुनौती थप बढेकोले कर्फ्यू आदेश जारी गरिएको छ ।

जिल्लाको बर्दिबास-गौशाला-सम्सी- औरहि-रामगोपालपुर- जलेश्वर-जनकपुर सडक खण्डमा नेपाली सेना,सशत्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा कडा सुरक्षा तथा निगरानी गर्दै छ । महोत्तरीको भंगहा,लोहारपट्टी,सोनमा लगायत नागरिक बसोबास गर्ने अन्य ठाउँहरुमा संयमित रही कर्फ्यू आदेश पालना गर्न समेत आग्रह गरिदै छ ।
कुनै किसिमको उच्छृंखल गतिविधि, होहल्ला र माहौल भडकाउने गरि कार्य भएमा तुरन्त सुरक्षा सयन्त्रका प्रतिनिधि वा नजिकको प्रहरी लाई जानकारी गराउन प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले अनुरोध गरेका छन ।
आज बिहान देखी भने महोत्तरीको अवस्था सामान्य रहेपनि आवश्यकता बाहेक बाहिर ननिस्कन सुरक्षा निकायले अनुरोध गरेको छ । स्वास्थ्यकर्मी, संचारकर्मी र विधुत प्राधिकरणका कर्मचारीहरु लाई परिचयपत्र तथा पेशागत पोशाक लगाएर मात्र काममा निस्किन आग्रह समेत गरिएको छ ।







