मधेस प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप आजबाट सुरु

१७ फागुन,वीरगञ्ज । मधेस प्रदेश कै सर्वाधिक धनराशी भएको दोस्रो वीरगञ्ज गोल्डकप २०८१ आजबाट सुरु हुने भएको छ । वीरगञ्ज महानगरपालिका नगर प्रमुख राजेशमान सिंहले वीरगञ्जको आर्दशनगर रंगशालामा आज शनिबार दिउँसो २ बजे खेलको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
आयोजक भेट्रान सिटी क्लब वीरगञ्जले दिएको जानकारी अनुसार खेलको उदघाटन वीरगञ्ज महानगरपालिका नगर प्रमुख सिंहले गर्नु हुने छ । वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजकमा हुन लागेको यस प्रतियोगिताका खेल फागुन २४ गतेसम्म सञ्चालन हुने आयोजक क्लबका उपाध्यक्ष सागर सम्शेर जबराले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल तथा भारतीय शहरका टोलीहरुको सहभागिता रहनेछ ।
आजको पहिलो खेल वीरगञ्ज युनाइटेड र गरवाल डाइमण्ड फुटबल क्लबबीच २.३० बजे देखि सुरु हुने आयोजकले जनाएको छ । नकआउट चरणमा खेलाईने प्रतियोगितामा राष्ट्रिय स्तरका आठ फुटबल टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा सङ्कटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती यूथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गरवाल डाइमण्ड फुटबल क्लब दिल्ली, एपिआई चर्च ब्वाइज युनाइटेड, काठमाडौं, सलहेश फुटबल क्लब सिराहा र आयोजक वीरगञ्ज युनाइटेड क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको उपाधी विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र त्यस्तैगरी उपविजेता टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार!