बङ्गलादेशमा जिहादी समूहद्वारा हिन्दु युवा दीपु चन्द्र दासको निर्मम हत्या गरिएको घटनाको विरोधमा हिन्दु सम्राट सेना तथा स्थानिययुवाहरुले महोत्तरी सदरमुकाम जलेश्वरमा हिन्दु एकताको नारा लगाउदै घटनाको विरोध गर्दै सोमबार विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनकारीहरूले “अल्पसंख्यकको सुरक्षा ग्यारेन्टी गर”, “मानवअधिकारको सुरक्षा गर”, “हिन्दुको हत्या बन्द गर” जस्ता नारा लगाउँदै बङ्गलादेश सरकारको कडा आलोचना गरेको छ ।
साथै “मोहम्मद युनुस सरकार मुर्दावाद”, “बङ्गलादेश मुर्दावाद”, “बङ्गलादेश दूतावास खारेज गर” जस्ता नारासमेत लगाइएका थिए । 
हिन्दु सम्राट सेना जलेश्वरका युवा शिवम सनातनीले बङ्गलादेश सरकार अल्पसंख्यकको सुरक्षामा पूर्ण रूपमा असफल भएको आरोप लगाए ।
उनले भने, “हिन्दु समुदायमाथि लक्षित हिंसा राज्यकै कमजोरी र संरक्षणबिना सम्भव हुँदैन । यदि तत्काल अल्पसंख्यकको सुरक्षा सुनिश्चित गरिएन भने अन्तर्राष्ट्रिय स्तरमा दबाब सिर्जना गरिनुपर्छ ।”
शिवमले नेपाल सरकारलाई पनि कुटनीतिक माध्यमबाट बङ्गलादेश सरकारसमक्ष कडा आपत्ति जनाउन आग्रह गरे ।
प्रदर्शन शान्तिपूर्ण भए पनि वातावरण तनावपूर्ण बनेको थियो । प्रदर्शनकारीहरूले बङ्गलादेश सरकार प्रमुख मोहम्मद युनुसको तस्बिर जलाएका थिए ।
हिन्दु सम्राट सेनाले यस्ता अमानवीय घटनाविरुद्ध निरन्तर आवाज उठाउने र आवश्यक परे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ ।







