मनराशिसवा १० लाई बेतिथि गर्ने थलो बनाईयो, वडाअध्यक्ष जनतालाई झुक्याउन् र जुधाउन मैं व्यस्त- स्थानिय

महोत्तरीको मनरा शिशवा नगरपालिका–१० का स्थानीय युवाहरूले आफ्नो वडालाई भ्रष्टाचारको अखाडा बनाइएको आरोप लगाएका छन् ।

१० वटा वडामध्ये सबैभन्दा बढी अनियमितता यही वडामा भइरहेको दाबी गर्दै स्थानीयले वडाध्यक्ष अरुण चौधरीले योजनाको नाममा बजेट लुटपाट गरेको आरोप लगाएका छन् ।

मधवा, मरुवाही र सकरीसहित तीन गाउँ समेटिएको वडामा वर्षौंदेखि अत्यावश्यक विकासका काम नहुँदा स्थानीय असन्तुष्ट छन् । वडामा विकासका नाममा ठूलाठूला रकम निकासा भए पनि धरातलमा कुनै पनि कामको प्रभाव नदेखिएको उनीहरूको गुनासो छ ।

स्थानीय युवा रवि चौधरीका अनुसार वडाध्यक्ष चौधरीले आफ्नो कार्यकालमा व्यापक भ्रष्टाचार र स्वार्थपूर्ण निर्णय गरेका छन् । उनले वडाको कार्यालय नै आफ्नै घरमा सञ्चालन गरी भाडा रकम पालिकाबाट आफ्नी आमा र काकाको नाममा बुझाएको दाबी गरेका छन् । ‘वडाध्यक्षले कार्यालय घरमै चलाएर महिनौँदेखि भाडा उठाउदै आईरहेका थिए। त्यो रकम प्रत्यक्ष आफ्नै परिवारको खातामा जाँदै आएको प्रमाण हामीसँग छ,’ उनले आरोप लगाए ।

त्यस्तै, सोही वडाका मधवा निवासी दिलीप मिश्रले वडाध्यक्षले युवाहरुलाई खेलकुद सामग्री वितरण गर्न १ लाख रुपैयाँ बराबरको बजेट निकाले पनि वस्तुहरू स्थानीयले कहिल्यै नदेखेको बताए । ‘खेल सामग्री वितरण भयो भनेर हामीले देख्नै पाएनौँ,’ मिश्रले आलोचना गर्दै भने ।

मिश्रले दलित बस्तीमा बाटो निर्माणका लागि तीन शीर्षकमा बजेट निकासी भए पनि एक इन्च पनि सडक नबनेको आरोप लगाए ।

त्यस्तै, युवा रोशन साहले सीसीटिभी क्यामेरा जडानका नाममा बजेट हिनामिना भएको आरोप लगाए । ‘एउटै ठाउँमा जडान गरिएको सीसीटिभी क्यामेराको बिल भने दुई स्थानका नाममा देखिन्छ । स्पष्ट रूपमा कागजी घप्ला छ,’ साहले भने ।

स्थानीय विजय ठाकुर भन्छन्, ‘वडाध्यक्षले वडा परिषद् बैठकसमेत मदिरा पसल र होटलमै बसेर गर्छन् । जनतालाई जानकारी नदिई छलकपटसँग निर्णय लिने गरेको खुलेआम चलन बसिसकेको छ ।’

उनका अनुसार वडाका अधिकांश निर्णयहरू स्थानीय सरोकारवाला वा बस्तीका प्रतिनिधि समक्ष प्रस्तुत नगरी सीमित व्यक्तिहरूको स्वार्थमा पारित हुने गरेका छन् ।

वडाका युवाहरूले अब यथाशीघ्र आर्थिक तथा योजनागत कार्यको छानबीन गर्न नगरपालिका र सम्बन्धित निकायलाई आग्रह गरेका छन् । ‘हामी मौन बसेर हेर्ने पक्षमा छैनौँ । प्रमाणसहित उजुरी दिने तयारी भइरहेको छ,’ डा. चौधरी भन्छन् ।

मनरा शिशवा–१० मा सतहमा नदेखिने तर कागजातमा ठूलो रकम खर्च भएको दाबीले स्थानीय राजनीतिक नेतृत्व र प्रशासनलाई दबाबमा ल्याएको छ । छानबीनका लागि स्थानीयले निरन्तर आवाज उठाइरहँदा वडाध्यक्ष चौधरी भने आरोपबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार!